काठमाडौं। रवि लामिछानेले अदालतले न्यायलाई सडकको बहस र हाँसोको विषय नबनाउन आग्रह गरेका छन्।

उनले आम नागरिकले सहज, निष्पक्ष र वास्तविक न्याय पाउनुपर्नेमा जोड दिएका छन्।

advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीको दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे उठेको विवादप्रति टिप्पणी गरेका हुन्।

वरिष्ठताका आधारमा मात्रै नियुक्ति गर्ने व्यवस्था हुने हो भने संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने उनको तर्क थियो।

लामिछानेले प्रधानन्यायाधीश सिफारिसलाई असंवैधानिक भनिएको प्रसंग उल्लेख गर्दै संवैधानिक प्रक्रियाअनुसार नै निर्णय भएको दाबी गरे।

उनले भने, “यदि वरिष्ठतम व्यक्तिलाई मात्रै स्वतः नियुक्त गर्ने व्यवस्था हुने हो भने संवैधानिक परिषद् गठन गर्नुको अर्थ रहँदैनथ्यो।”

उनले न्याय प्रणालीप्रति जनविश्वास कायम राख्न अदालत पनि जिम्मेवार हुनुपर्ने बताए।

अनावश्यक विवाद र उत्तेजक अभिव्यक्तिले न्यायालयको गरिमा कमजोर हुने उनको भनाइ थियो।

सम्बोधनका क्रममा उनले आफूविरुद्ध आक्रोश व्यक्त गर्नेहरूलाई लक्षित गर्दै प्रतीकात्मक शैलीमा चुनौती पनि दिए।

उनले आफ्नो भनाइलाई लिएर अत्यधिक प्रतिक्रिया जनाउनुको कुनै अर्थ नरहेको उल्लेख गर्दै न्यायालयले मूलतः जनतालाई न्याय दिने काममा केन्द्रित हुनुपर्ने बताए।

लामिछानेले वर्तमान राजनीतिक अवस्थालाई “इतिहासकै सहज राजनीतिक परिवर्तन” को संज्ञा दिँदै अहिलेको पुस्ताले परिणाम दिन नसके आफूहरू अयोग्य सावित हुने बताए।

विगतका राजनीतिक आन्दोलनमा जस्तो ज्यानको जोखिम, भूमिगत जीवन वा कठोर संघर्ष अहिले नभएको उल्लेख गर्दै उनले जनताले दिएको अवसरलाई परिणाममा बदल्नुपर्ने धारणा राखे।

उनले व्यवस्था परिवर्तनभन्दा अवस्था परिवर्तन अझ ठूलो चुनौती भएको उल्लेख गरे।

जनताले दिएको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्न नसकिए नयाँ पुस्ताको राजनीति असफल हुने उनको भनाइ थियो।

पार्टीभित्र मन्त्री वा अन्य जिम्मेवारी नपाउँदा केही असन्तुष्टि हुनु स्वाभाविक भए पनि सांसदको भूमिका कुनै पदभन्दा ठूलो रहेको उनले बताए।

सांसदहरूलाई कानुन निर्माण र दीर्घकालीन नीति निर्माणमा ध्यान दिन आग्रह गर्दै उनले व्यक्तिगत अपेक्षाभन्दा राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

त्यसैगरी उनले पार्टीभित्र मतभेद र असन्तुष्टि देखिन सक्ने भए पनि त्यसलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नुपर्ने बताए।

सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालको प्रयोग र व्यक्तिगत व्यवहारले पार्टीको छवि निर्धारण गर्ने भएकाले नेता–कार्यकर्तालाई संयमित रहन आग्रह गरे।

लामिछानेले रास्वपाले प्राप्त गरेको जनमत केवल आफ्ना समर्थकबाट मात्रै नआएको दाबी गर्दै पुराना दलसँग जोडिएका मतदाताले पनि परिवर्तनको आशामा रास्वपालाई विश्वास गरेको उल्लेख गरे।

उनले त्यस विश्वासलाई जोगाउनु अहिलेको मुख्य जिम्मेवारी भएको बताए।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com