काठमाडौं। रवि लामिछाने ले पार्टीभित्र गरिने नीति मन्थन र विज्ञहरूसँगको छलफललाई केवल औपचारिक कार्यक्रम वा मिडियाका सामग्रीमा सीमित राख्न नहुने बताएका छन्।
उनका अनुसार यस्ता छलफलबाट निस्कने निष्कर्ष देशकै नीति निर्माणको आधार बन्नुपर्छ।
काठमाडौँमा आयोजित “राष्ट्रिय स्वतन्त्र पार्टी नीति मन्थन : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन” कार्यक्रममा बोल्दै उनले पार्टी स्थापनादेखि नै विभिन्न क्षेत्रका विज्ञहरूसँग निरन्तर नीति बहस भइरहेको उल्लेख गरे।
लामिछानेले नीति मन्थनमा उठाइएका विषयहरू केवल छलफलमै सीमित भए त्यसको अर्थ नहुने बताए।
ती सुझावहरूलाई व्यवस्थित रूपमा नीति बनाउँदै सम्बन्धित क्षेत्रको समस्या समाधानमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, “नीति मन्थनबाट आएका विचारहरू केवल कार्यक्रम वा सञ्चारमाध्यमका सामग्री भएर मात्र सीमित हुनु हुँदैन।
ती विचारहरू नीति बनेर कार्यान्वयनमा जानुपर्छ।”
उनका अनुसार समय र आवश्यकताअनुसार नीति बहसका विषय परिवर्तन भए पनि मुख्य लक्ष्य भनेकै देशको आवश्यकता अनुसार प्रभावकारी नीति निर्माण गर्नु हो।
नीति मन्थनलाई गम्भीर रूपमा अघि बढाइरहेको उल्लेख गर्दै उनले यसलाई परिणाममुखी बनाउने प्रतिबद्धता दोहोर्याए।
लामिछानेले यस्ता छलफलहरू पार्टीको आन्तरिक अभ्यास मात्र नभई राष्ट्रिय नीति निर्माणमा योगदान दिने माध्यम बन्न सक्ने बताए।
उनले नीति निर्माणमा विज्ञहरूको सहभागिता र सुझावलाई संस्थागत गर्न सके मात्र दीर्घकालीन लाभ हासिल हुने धारणा राखे।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार












प्रतिक्रिया