काठमाडौं। अमेरिका र इजरायलसँग जारी तनाव तथा युद्धजन्य अवस्थाका बीच इरान गम्भीर ऊर्जा तथा निर्यात संकट मा फसेको देखिएको छ।
दैनिक ३० लाख ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्दै आएको इरानको तेल निर्यात अमेरिकी नाकाबन्दीपछि लगभग ठप्प बनेको अन्तर्राष्ट्रिय विश्लेषणहरूले देखाएका छन्।
अमेरिकी नौसैनिक निगरानीका कारण होर्मुज जलडमरू र प्रमुख इरानी बन्दरगाहहरूमा कडाइ बढेपछि तेल निर्यात प्रभावित भएको हो।
निर्यात अवरुद्ध भएपछि इरानका मुख्य भण्डारण केन्द्रहरू भरिन थालेका छन् भने अतिरिक्त तेल व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताइएको छ।
भूउपग्रह तस्बिर तथा राडार विश्लेषणले फारसी खाडी आसपासका समुद्री क्षेत्रमा ठूलो परिमाणमा तेल फैलिएको संकेत दिएका छन्।
विशेषगरी खार्ग टापु नजिक समुद्रमा देखिएका कालो धब्बाहरूलाई तेल चुहावट वा जानाजानी गरिएको विसर्जनसँग जोडेर हेरिएको छ।
विश्लेषकहरूका अनुसार इरानले पुराना तेल ट्याङ्करलाई अस्थायी भण्डारणका रूपमा प्रयोग गरे पनि उत्पादन निरन्तर जारी रहेकाले ती साधनहरू समेत भरिएका छन्।
तेल उत्पादन पूर्ण रूपमा रोक्दा भूमिगत भण्डारण संरचनामा दीर्घकालीन क्षति पुग्न सक्ने भएकाले इरान उत्पादन रोक्न नसक्ने अवस्थामा पुगेको बताइन्छ।
युरोपेली अन्तरिक्ष निगरानी प्रणालीबाट प्राप्त तथ्याङ्कअनुसार फारसी खाडी, होर्मुज जलडमरू, लावन टापु र केश्म टापु आसपास समुद्रमा तेल फैलिएको असामान्य दृश्य देखिएको छ।
वैज्ञानिकहरूका अनुसार समुद्रको सतहमा तैरिएको तेलले राडार तस्बिरमा कालो तथा चिल्लो क्षेत्र बनाउँछ, जुन ठूलो परिमाणको तेल चुहावटको संकेत मानिन्छ।
यस घटनाले समुद्री वातावरणमा गम्भीर असर पर्न थालेको चिन्ता व्यक्त गरिएको छ। कोरल चट्टान, समुद्री जीव, माछा तथा चराचुरुङ्गीहरूमा प्रतिकूल प्रभाव देखिन थालेको बताइएको छ।
ओमान आसपासका तटीय क्षेत्रमा ठूलो सङ्ख्यामा मरेका समुद्री जीव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
विश्वको झण्डै २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने मार्गमै तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य पुनः उकालो लाग्न थालेको छ।
यसको असर भारतसहित तेल आयातमा निर्भर मुलुकहरूमा समेत देखिन थालेको विश्लेषण गरिएको छ।
यता अमेरिकी गुप्तचर निकायहरूले इरानले प्रतिबन्ध छल्न गोप्य रूपमा तेल कारोबार जारी राखेको दाबी गरेका छन्।
इन्डोनेसिया आसपासका समुद्री क्षेत्रमा जहाजबाट जहाजमा तेल सारेर चीनतर्फ पठाइएको आशंका गरिएको छ।
करोडौँ ब्यारेल तेल यसरी गुप्त रूपमा निर्यात गरिएको अनुमान गरिए पनि इरानी पक्षले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया