काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ । भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको उक्त भेटमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्था तथा देशको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको जनाइएको छ ।
पत्थरीको शल्यक्रियापछि अध्यक्ष ओली हाल निवासमै आराम गरिरहेका छन् । यसअघि पनि उनी अस्पतालमा उपचाररत रहेका बेला भण्डारीले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
ओली निकट स्रोतका अनुसार, दुई नेताबीच करिब तीन घण्टा लामो भेटवार्ता भएको थियो । ‘भेटमा दुई जना मात्रै सहभागी भएकाले के–कस्ता विषयमा विस्तृत छलफल भयो भन्ने खुल्न सकेको छैन,’ स्रोतले जनाएको छ ।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण नगरेपछि अध्यक्ष ओलीसँग उनको सम्बन्ध चिसिएको बताइन्छ । गत फागुनमा सम्पन्न निर्वाचनमा एमालेको कमजोर प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनको माग चर्किँदै आएको छ । त्यसका लागि विशेष महाधिवेशन बोलाउनुपर्ने आवाज उठिरहेको भए पनि अध्यक्ष ओली तत्काल नेतृत्व हस्तान्तरण गर्ने पक्षमा देखिँदैनन् ।
यस भेटमा एमालेभित्र भइरहेका पछिल्ला भेला, आन्तरिक गतिविधि तथा नेताहरूका अभियानबारे समेत छलफल भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया