काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत राजनीतिक संवाद गरेकी छन् ।
आइतबार दिउँसो करिब १ बजे भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेकी विद्यादेवी भण्डारीले दुई घण्टाभन्दा बढी समय छलफल गरेकी हुन् । प्रारम्भिक रूपमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेकी भण्डारीले भेटका क्रममा पार्टीको आन्तरिक अवस्था र पछिल्लो राजनीतिक परिस्थितिबारे समेत धारणा राखेको स्रोतको दाबी छ ।
भण्डारी निकट स्रोतका अनुसार, पार्टीका पदाधिकारीदेखि कार्यकर्तासम्मले निर्वाचनको समीक्षा बैठक बोलाउन माग गरिरहेका छन् । तर अहिलेसम्म औपचारिक रूपमा बैठक नबोलाइएकामा असन्तुष्टि बढ्दै गएको सन्देश अध्यक्ष ओलीसम्म पुर्याइएको बताइएको छ ।
पूर्वउपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेकी भण्डारीले समीक्षा बैठक ढिलाइ नगर्न सुझाव दिएकी छन् । कार्यकर्तामा निराशा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले अन्योल लम्ब्याउन नहुने धारणा व्यक्त गरेकी थिइन् ।
पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भसमेत उनले स्मरण गराएकी थिइन् । यद्यपि, नेतृत्व परिवर्तनको बहस आफ्नो स्थानमा भए पनि कम्तीमा समीक्षा बैठक बोलाएर स्पष्ट मार्गचित्र दिनुपर्ने सुझाव उनले दिएको स्रोतको भनाइ छ ।
अध्यक्ष ओलीले भने विभिन्न सन्दर्भ र परिस्थिति अनुकूल नभएकाले बैठक बोलाउन ढिलाइ भइरहेको जवाफ दिएका बताइन्छ । उनले अन्य नेताहरूसँग पनि यस्तै तर्क प्रस्तुत गर्दै आएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा एमालेले अपेक्षित नतिजा हासिल गर्न नसकेपछि अध्यक्ष ओलीमाथि नेतृत्वबारे प्रश्न उठ्दै आएको छ । निर्वाचन सम्पन्न भएको २१ फागुनयता भण्डारीले ओलीसँग गरेको यो चौथो भेटवार्ता हो, जसलाई पार्टीभित्रको आन्तरिक समीकरणसँग जोडेर हेरिएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया