काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारको पछिल्ला निर्णय र कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै ती कदमहरू लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध गएको आरोप लगाएको छ।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकको शून्य समयमा बोल्दै संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सुकुमबासी बस्तीमा डोजर चलाउनेदेखि संवैधानिक परिषद्को निर्णय प्रक्रियासम्मका विषयलाई लिएर सरकारमाथि कडा प्रश्न उठाए।
उनले सरकारको व्यवहारले नागरिकलाई चरम निराशा र असुरक्षातर्फ धकेलेको दाबी गर्दै भने, “नागरिकलाई आत्महत्या गर्न बाध्य बनाउने अवस्था सिर्जना भएको छ।
यस्तो परिस्थितिमा इन्द्रबहादुर राईले आत्महत्या गरेको घटनामा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्छ कि लाग्दैन?”
दुलालले वर्तमान सरकार ‘कानूनको शासन’ को नारा लिएर बने पनि व्यवहारमा त्यसको उल्टो दिशामा अघि बढिरहेको आरोप लगाए।
उनका अनुसार सरकारका निर्णयहरू लोकतन्त्रलाई बलियो बनाउने होइन, बरु कमजोर बनाउने दिशामा छन्।
उनले संवैधानिक परिषद्मा भएका निर्णय र प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई पनि लक्षित गर्दै सहमति र बहुमतको नाममा लोकतान्त्रिक अभ्यास कमजोर पारिएको टिप्पणी गरे।
उनका अनुसार यस्तो कार्यशैलीले सरकारको दिशा लोकतन्त्रको सुदृढीकरणतर्फ हो कि निरङ्कुशतातर्फ भन्ने गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार












प्रतिक्रिया