काठमाडौं। सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यसहित सामाजिक रूपान्तरणका कार्यक्रम अघि बढाउने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले शून्य हिंसा सहनशीलताको नीति लागू गर्दै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा समावेशी समुदायलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
सरकारले नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत कम्पनी दर्ता, कर छुट तथा बिउ पूँजीजस्ता सेवा एकै दिनमा उपलब्ध गराउने नीति पनि अघि सारेको छ।
यस्तै, ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्न कृषि क्षेत्रमा बहुपक्षीय लगानी प्रवर्द्धन गरिने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि उद्यममा आकर्षित गर्न विशेष उत्पादन क्षेत्र विकास गरिने सरकारको योजना छ।
कृषि उत्पादनलाई उद्योग र बजारसँग प्रत्यक्ष जोड्ने नीति पनि सरकारले लिएको छ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया