काठमाडौ। पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएका यातायात पूर्वाधार योजनामाथि प्राविधिक दृष्टिले पुनर्विचार आवश्यक रहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सडक, रेल, जलमार्ग, रोपवे र हवाई यातायातलाई समेट्ने गरी तयार गर्न खोजिएको एकीकृत राष्ट्रिय यातायात गुरुयोजनाको अवधारणालाई सकारात्मक कदम भनेका छन्। तर यस्तो गुरुयोजना केवल दस्तावेजमा सीमित नभई परियोजना छनोट, लगानी प्राथमिकता र कार्यान्वयन प्रक्रियामा वास्तविक मार्गदर्शन गर्ने हुनुपर्ने उनले जोड दिएका छन्।

advertisement

उनका अनुसार काठमाडौँ उपत्यकामा प्रस्ताव गरिएको बस र्‍यापिड ट्रान्जिट (बीआरटी) प्रणाली अहिलेको सहर संरचनासँग मेल खाने खालको छैन।

साँघुरा सडक, उच्च सवारी चाप र सीमित भौतिक विस्तारका कारण बीआरटीले ट्राफिक समस्या समाधान गर्नुको सट्टा झनै जटिल बनाउन सक्ने जोखिम उनले औँल्याएका छन्।

त्यसको सट्टा विद्यमान बस सेवा प्रणालीलाई नै सुधार, व्यवस्थित र यात्रु–मैत्री बनाउने विकल्प बढी व्यवहारिक हुने उनको सुझाव छ।

रेलमार्ग विस्तारको सन्दर्भमा पनि उनले सावधानी अपनाउनुपर्ने बताएका छन्।

विशेषगरी पूर्व–पश्चिम रेलमार्गलाई अहिलेको डिजाइन र कार्यान्वयन ढाँचामै अगाडि बढाउनु भन्दा पहिले विस्तृत प्राविधिक पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ।

त्यसैगरी, नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग र भारततर्फ जोडिने रक्सौल–काठमाडौं रेलमार्ग अघि बढाउने सरकारी नीति सही दिशामा भए पनि रक्सौल–काठमाडौं रेलमार्गको हालको अध्ययन प्रतिवेदनमाथि गम्भीर पुनरावलोकन आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

डा. आचार्यको टिप्पणीले ठूला पूर्वाधार परियोजनामा राजनीतिक घोषणा भन्दा प्राविधिक अध्ययन र व्यवहारिक सम्भावनालाई प्राथमिकता दिनुपर्ने बहस पुनः सतहमा ल्याएको छ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com