काठमाडौं। सांसद खडकबहादुर बुढाले जाजरकोटमा गएको भूकम्पपछि लामो समय बितिसक्दा पनि प्रभावित नागरिकहरू अझै त्रिपाल र टिनका अस्थायी टहरामा बस्न बाध्य रहेको भन्दै तत्काल समाधानको माग गरेका छन्।
अर्थ समितिको छलफलमा उनले कर्णाली प्रदेशको विकास अवस्था अत्यन्तै पछाडि परेको भन्दै आगामी बजेटमार्फत विशेष प्राथमिकता र थप स्रोतसाधनको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार भूकम्पपीडितहरूको स्थायी पुनर्वास अझै सुनिश्चित हुन नसक्नु राज्यको गम्भीर कमजोरी हो।
उनले ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको विषय पनि उठाउँदै कम्पनीको खातामा करिब १ अर्ब ७० करोड रुपैयाँ मौज्दात हुँदाहुँदै पनि प्रभावित स्थानीयको मुआब्जा वितरण नहुनु दुर्भाग्यपूर्ण भएको बताए। बुढाले मुआब्जा वितरण प्रक्रिया तत्काल अघि बढाउन र आयोजनाको कामलाई गति दिन सरकारलाई आग्रह गरे।
उनको भनाइमा, विकास आयोजना र पुनर्निर्माण दुवै प्रक्रिया ढिलाइ हुँदा स्थानीय जनताको जीवन अझै असहज बनेको छ, जसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया