काठमाडौं। वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे रहेका छन्।
प्रहरीका अनुसार पाण्डेले सर्विया, स्लोभाकिया लगायतका युरोपेली देशहरूमा आकर्षक तलबको रोजगारी दिलाइदिने आश्वासन दिएर १३ जना व्यक्तिबाट करिब ३५ लाख ७० हजार रुपैयाँ उठाएको खुलेको छ। तर रकम लिएपछि उनी सम्पर्कविहीन बनेका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा पाण्डेले वैदेशिक रोजगारका नाममा विश्वास दिलाएर रकम संकलन गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।
उनीलाई काठमाडौँको नागार्जुन नगरपालिका–९ बाट सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगी बढ्दै गएकाले सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया