काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले दलित समुदायको उत्थान र अधिकार सुनिश्चित गर्न आगामी बजेटमा विशेष प्राथमिकता दिन सरकारसँग आग्रह गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दलित समुदायप्रति राज्यले न्यायपूर्ण व्यवहार गर्नुपर्ने र उनीहरूको हित प्रवर्द्धनमा ठोस पहल आवश्यक रहेको बताइन् ।
सांसद रिमा विश्वकर्माले हिरासतभित्र हुने मृत्युसम्बन्धी घटनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिन् । इन्सेकको तथ्यांक उद्धृत गर्दै उनले पछिल्लो एक वर्षमा ८८ जनाको हिरासतमा मृत्यु भएको र तीमध्ये ५२ प्रतिशत दलित तथा सीमान्तकृत समुदायका रहेको जानकारी दिइन् । ती मृत्युमध्ये ५६ प्रतिशतलाई आत्महत्या भनेर वर्गीकरण गरिएको विषयप्रति उनले प्रश्न उठाइन् ।
उनले हिरासतभित्र हुने अधिकांश मृत्युलाई सहजै आत्महत्या भनेर व्याख्या गर्नु स्वाभाविक नभएको उल्लेख गर्दै यस्ता घटनामा निष्पक्ष छानबिन आवश्यक रहेको बताइन् । साथै, पीडित परिवारलाई न्याय दिलाउन ढिलाइ नगर्न सरकारसँग आग्रह गरिन् ।
सांसद विश्वकर्माले सरकारको घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसार दलित समुदायको अधिकार सुनिश्चित गर्न ढिलाइ हुन नहुनेमा जोड दिँदै आगामी बजेटमा यस समुदायका लागि पर्याप्त स्रोत विनियोजन गर्नुपर्ने माग गरिन् ।
उनले हिरासत मृत्युका घटनालाई गम्भीरतापूर्वक लिँदै सत्यतथ्य बाहिर ल्याउन र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारलाई जिम्मेवार बन्न आग्रह गरेकी छन् ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया