काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा देखिएको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो दलको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले लामो संघर्ष, क्रान्ति र बलिदानको परिणामस्वरूप प्राप्त वर्तमान राजनीतिक संरचनालाई ‘रगतले लेखिएको इतिहास’ का रूपमा व्याख्या गरे ।
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको संसदमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा अन्य उपेक्षित समुदायहरूको व्यापक सहभागिता देखिनु आफैंमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । उनका अनुसार यस्तो प्रतिनिधित्व कुनै दलको जित–हारभन्दा पनि माथिको विषय हो ।
उनले भने, ‘परिणामका दृष्टिले जे–जस्तो भए पनि यो संसदमा विभिन्न समुदायको इन्द्रधनुषी प्रतिनिधित्व देखिनु मेरो लागि पार्टीको विजयभन्दा पनि ठूलो उपलब्धि हो, र यो सधैं महत्वपूर्ण रहनेछ ।’
प्रचण्डले पछिल्ला राजनीतिक परिवर्तनलाई क्रान्तिकारी आन्दोलनको निरन्तरतासँग जोड्दै संसदको वर्तमान स्वरूपलाई संघर्ष र बलिदानको उपज बताए । उनले यसलाई ‘पिठ्यूँमा दुधे बालक र काँधमा बन्दुक बोकेर संघर्ष गरेका महिलाहरूको त्यागको परिणाम’ भन्दै भावुक टिप्पणी गरे ।
उनका अनुसार यदि विगतका आन्दोलनहरू नभएको भए उत्पीडित समुदायका प्रतिनिधिहरू आजको स्थानमा पुग्न सम्भव थिएन ।
त्यसैगरी उनले संसदमा विभिन्न समुदायको बढ्दो प्रतिनिधित्वलाई ऐतिहासिक परिवर्तनको संकेतका रूपमा चित्रण गर्दै त्यसलाई क्रान्तिको उपलब्धि भनेका छन् ।
प्रचण्डले विभिन्न आन्दोलनमा सहभागी सहिद, बेपत्ता तथा घाइते योद्धाप्रति सम्मान व्यक्त गर्दै वर्तमान संसदलाई उनीहरूको त्यागको प्रतिफलको रूपमा व्याख्या गरे ।
उनले राजनीतिक दल फरक भए पनि समावेशी प्रतिनिधित्वलाई सबैले गर्वका साथ स्वीकार गर्नुपर्ने धारणा राखे । साथै उनले निर्वाचनमार्फत संसदमा पुगेका सबै नयाँ सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
रुकुम पूर्वबाट निर्वाचित प्रचण्डले आफूलाई जित दिलाउने मतदाताप्रति आभार व्यक्त गर्दै जनताको विश्वासलाई सदैव सम्मान गर्ने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया