काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले ‘जेन–जी’ आन्दोलनका शहीद तथा घाइतेहरूले अझै न्याय नपाएको भन्दै संसदमा सरकारको तीव्र आलोचना गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाउने र घाइते हुने नागरिकको योगदानलाई राज्यले क्रमशः बिर्सिँदै गएको आरोप लगाइन्।
उनका अनुसार परिवर्तनका लागि रगत बगाउने युवापुस्ताको बलिदानलाई उचित सम्मान र न्याय दिलाउन सरकार असफल देखिएको छ।
सांसद खत्रीले आन्दोलनका क्रममा भएको दमन र गोली प्रहारका घटनामा संलग्न दोषीहरू अझै कानुनी दायरामा नआएको भन्दै गम्भीर प्रश्न उठाइन्।
उनले भनिन्, “निर्दोष नागरिकमाथि गोली चलाउनेहरूलाई कहिले जेलमा देख्न पाइन्छ?”
सम्बोधनका क्रममा उनले न्याय प्रणालीप्रति पनि असन्तुष्टि जनाउँदै न्यायालयमा सुधार र शुद्धीकरण आवश्यक रहेको बताइन्।
उनले सरकारलाई पीडित परिवारप्रति संवेदनशील बन्न र दोषीमाथि शीघ्र कानुनी कारबाही अघि बढाउन आग्रह गरिन्।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया