काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राईलाई २०८३ वैशाख २९ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो ।

advertisement

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवा सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ (ङ) अनुसार उनलाई हटाइएको उल्लेख गरिएको छ ।

यसअघि सभामुख अर्यालले वैशाख १७ गते राईसँग स्पष्टीकरण माग गरेका थिए । सोही अनुरूप राईले वैशाख २१ गते आफ्नो जवाफ बुझाएका थिए ।

उक्त ऐनअनुसार कार्यक्षमतामा कमजोरी देखिएमा वा जिम्मेवारीप्रति जवाफदेही नदेखिएको अवस्थामा स्पष्टीकरण सोधेर राष्ट्रपतिसमक्ष पदमुक्तिका लागि सिफारिस गर्न सकिने व्यवस्था छ । हटाउनुअघि सफाइको अवसर दिनुपर्ने प्रावधान अनुसार नै राईसँग स्पष्टीकरण माग गरिएको थियो ।

राई यसअघि तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते प्रतिनिधिसभाका सचिव पदमा नियुक्त भएका थिए ।

संविधानको धारा १०६ (१) अनुसार सभामुखको सिफारिसमा राष्ट्रपतिले सचिव नियुक्त गर्ने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com