विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको एकता सुदृढ गर्ने उद्देश्यसहित कोशी प्रदेशस्तरीय भेला विराटनगरमा आयोजना गरेको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सूचना, सञ्चार तथा प्रचार विभाग संयोजक मीन विश्वकर्माको पहलमा मंगलबार सम्पन्न उक्त भेलामा विभिन्न समूहका नेताहरू सहभागी भएका थिए ।
निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेताहरूले पार्टीलाई एकताबद्ध बनाउने लक्ष्यसहित सुझाव संकलनका लागि भेला आयोजना गरेका हुन् । कार्यक्रममा डा. शेखर कोइराला समूहका नेता केदार कार्कीलगायतले पनि आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले जेठ १० गतेभित्र सबै प्रदेशमा यस्तै भेला सम्पन्न गरी आवश्यक निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । उनले समयमै निर्णय लिनुपर्नेमा जोड दिँदै ढिलाइले समस्या थप जटिल बन्ने चेतावनी दिए ।
भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाल विभिन्न स्थानमा सीमित सहभागितामा छलफल भइरहेको र सुझाव संकलन जारी रहेको जानकारी दिए । आफ्नो धारणा राख्दै उनले जेठ १० गतेभित्र प्रदेशस्तरीय भेला सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।
सिटौलाले पार्टीभित्र कमजोर बन्दै गएको एकतालाई पुनर्स्थापित गर्न ढिलाइ गर्न नहुने उल्लेख गरे । विशेष महाधिवेशन र नियमित महाधिवेशनसम्बन्धी विवादले पार्टीलाई कमजोर बनाएको उनको भनाइ थियो ।
उनले पार्टीभित्र एकता कायम नभए देश र लोकतन्त्रसम्बन्धी चुनौतीहरूको सामना गर्न कठिन हुने उल्लेख गर्दै व्यापक छलफलमार्फत कार्यकर्ताको भावना समेट्नुपर्ने आवश्यकता औँल्याए ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया