काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।
भ्रमणमा निस्कनुअघि उनले इरानसँगको तनाव समाधान गर्न आफूलाई चीनको सहयोग आवश्यक नरहेको बताएका छन् ।
ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग विभिन्न विषयमा विस्तृत छलफल हुने जानकारी दिए ।
तर, इरानको विषय आफ्नो मुख्य एजेन्डामा नरहेको उनले स्पष्ट पारे ।
“साँचो भन्नुपर्दा इरान अहिले हाम्रो एजेन्डाको विषय होइन, किनकि इरान पहिले नै हाम्रो नियन्त्रणमा छ,” ट्रम्पले भने ।
उनले इरानलाई चेतावनीपूर्ण शैलीमा सम्बोधन गर्दै “या त सम्झौतामा पुग्छौँ, होइन भने इरानले गम्भीर परिणाम भोग्नुपर्नेछ,” भन्ने अभिव्यक्ति दिएका छन् ।
चीनको विदेश मन्त्रालयका अनुसार ट्रम्प जेठ ३० देखि ३२ गतेसम्म चीन भ्रमणमा रहनेछन् ।
करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हुन लागेको बताइएको छ ।
भ्रमणका क्रममा अमेरिका–चीन सम्बन्ध, व्यापार, सुरक्षा तथा क्षेत्रीय राजनीतिक विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया