काठमाडौ। अखिल नेपाल सुकुमबासी संघले देशभरका सुकुमबासीहरूको अधिकार र न्याय सुनिश्चित गर्न भन्दै भोलि वैशाख ३१ गते पूर्व–पश्चिम राजमार्ग ५ घण्टा बन्द गर्ने घोषणा गरेको छ।

संघले बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै बिहान ५ बजेदेखि १० बजेसम्म देशकै प्रमुख पूर्व–पश्चिम राजमार्ग ठप्प पारिने जानकारी दिएको हो।

advertisement

संघका अनुसार सुकुमबासी बस्तीहरूमा सरकारी निकायबाट भइरहेको डोजर कारबाही र बस्ती हटाउने कार्यको विरोधस्वरूप यो आन्दोलन गर्न लागिएको हो।

संघले सुकुमबासी बस्तीहरूमा भइरहेको कारबाहीलाई “डोजर आतंक” भन्दै त्यसको तत्काल अन्त्य गर्न माग गरेको छ।

साथै, विस्थापित नागरिकलाई होल्डिङ सेन्टरमा राखेर अस्थायी समाधान गर्नुको सट्टा स्थायी रूपमा जमिनको व्यवस्थापन गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

संघका अध्यक्ष अमर परियारले सुकुमबासीहरूको दीर्घकालीन समस्याको समाधान राज्यले तत्काल खोज्नुपर्ने बताउँदै सरकारसँग स्पष्ट नीति ल्याउन आग्रह गरेका छन्।

त्यसैगरी संघका इन्चार्ज नहेन्द्र खड्काले यो आन्दोलन कुनै एक समूहको मात्र नभई देशभरका सुकुमबासीहरूको साझा अधिकारका लागि भएको दाबी गर्दै सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले सरकारले नागरिकको आवास अधिकारप्रति बेवास्ता गरेको आरोप लगाउँदै असन्तुष्टि जनाएका छन्।

विभिन्न राजनीतिक दल निकट सुकुमबासी संगठनहरूले समेत आन्दोलनलाई समर्थन जनाएका छन्।

संघका महासचिव प्रकाश खरेलका अनुसार राजमार्ग बन्दसँगै काठमाडौँको माइतीघर मण्डलामा पनि संयुक्त प्रदर्शन गरिनेछ।

उपाध्यक्ष लीला मोक्तानले आन्दोलन बाध्यात्मक भएको बताउँदै यसलाई अधिकार रक्षाको कदमका रूपमा लिइनुपर्ने बताएकी छन्।

संघले सरकारलाई आफ्ना मागप्रति गम्भीर हुन चेतावनी दिँदै आवश्यक सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाइने जनाएको छ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com