काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्री बालेन्द्र साह लाई संसद बैठकमा उपस्थित गराउन आफूले मिति तोक्न वा बाध्य पार्न सक्ने अधिकार नभएको स्पष्ट पारेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न विपक्षी सांसदहरूले माग गरेपछि सभामुख अर्यालले यस्तो धारणा राखेका हुन्।
उनले कुनै पनि सांसदको व्यक्तिगत कार्यतालिका सभामुखले निर्धारण गर्न नसक्ने उल्लेख गर्दै भने, “सम्माननीय प्रधानमन्त्री मात्रै होइन, कुनै पनि माननीय सदस्य भोलि सदनमा उपस्थित हुनुहुन्छ वा हुनुहुन्न भन्ने विषयमा आजै सभामुखले कार्यतालिका सोध्ने आधार र अधिकार म देख्दिनँ।”
सभामुख डोलप्रसाद अर्याल ले सदनको अवरोध अन्त्य गरी बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए। साथै, प्रधानमन्त्री साहलाई संसदमा उपस्थित गराउने विषयमा आफूले आजै बेलुका छलफल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
यसैबीच, प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको छ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया