काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा बुधबार साँझ घरको छतबाट खसेर दुई मजदुर ज्यान गएको छ।
मलंगवा नगरपालिका–१० का रञ्जित यादवको चारतले घरको छतमा पानीट्यांकी राख्ने ढलान प्लास्टर गर्ने क्रममा छतसहित भुइँमा खस्दा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मलंगवा नगरपालिका–२ का ५० वर्षीय छोटु साह र हरिपूर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादव रहेका छन्।
बुधबार साँझ पौने ५ बजेतिर छतबाट खसेर अचेत भएका दुवै जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।
दुवै मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार












प्रतिक्रिया