काठमाडौँ । संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलले जेन–जी प्रतिनिधिसँग हुने छलफलमा नबोलाएको भन्दै मिराज ढुंगानाले असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत कार्यदलको संरचना र नियुक्तिमाथि नै प्रश्न उठाएका हुन्।
कार्यदलका अध्यक्ष असिम शाहलाई लक्षित गर्दै ढुंगानाले व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले मुटुको शल्यक्रियासँग तुलना गर्दै “कार्डियोलोजिस्टको सट्टा प्लम्बरले सर्जरी गरेजस्तो अवस्था” हुने टिप्पणी गरेका छन्।
ढुंगानाले आफूलाई संवैधानिक निकासको पक्षमा निरन्तर वकालत गर्ने व्यक्ति भए पनि कार्यदलमा नबोलाइनु उपयुक्त भएको बताएका छन्। साथै उनले कार्यदलले तयार गर्ने संविधानमा ‘मसालेदार’ वा असन्तुलित दृष्टिकोण नआओस् भन्ने सुझावसमेत दिएका छन्।
त्यस्तै, उनले जेन–जी प्रतिनिधिहरूलाई छलफलमा सहभागी हुन आग्रह गर्दै संवैधानिक प्रक्रियामा उनीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्। उनले सम्भावित ‘संवैधानिक दुर्घटना’ रोक्न युवाहरू नै सचेत हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया