काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र साहमाथि संसद् र संविधानको अवमूल्यन गरेको गम्भीर आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतान्त्रिक अभ्यासभन्दा फरक दिशा लिन खोजिएको संकेत देखिएको बताए ।

advertisement

उनले संविधानले नेपालमा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराउँदै त्यसैअनुसार शासन सञ्चालन हुनुपर्नेमा जोड दिए ।

महरले प्रधानमन्त्री साहको व्यवहारप्रति असन्तुष्टि जनाउँदै भने, ‘प्रधानमन्त्रीले पटक–पटक संसद् उपेक्षा गर्ने, सदनको गरिमा घटाउने र अपमान गर्ने काम गर्नुभएको छ । यसले लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रश्न उठाएको छ ।’

उनले पछिल्लो समय ‘लोकतन्त्रभन्दा बालेनतन्त्रतर्फ मुलुक धकेलिन खोजिएको हो कि’ भन्ने जनचासो बढिरहेको उल्लेख गर्दै सरकारको मार्ग स्पष्ट हुनुपर्ने बताए ।

‘संविधानले निर्दिष्ट गरेको शासन प्रणालीअनुसार सरकार अघि बढिरहेको छ कि कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्ने प्रयास भइरहेको छ ?’ भन्ने प्रश्न उठाउँदै उनले सरकारको प्रतिबद्धता स्पष्ट गर्न माग गरे ।

एमालेले प्रधानमन्त्रीको भूमिकालाई लिएर उठेका यस्ता प्रश्नले लोकतान्त्रिक अभ्यासमै चुनौती सिर्जना गर्न सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com