काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नदेखिएको भन्दै कडा आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई निरन्तर बेवास्ता गरेको आरोप लगाइन् । उनका अनुसार, लोकतन्त्र केवल निर्वाचन जित्ने माध्यम मात्र नभई निरन्तर संवाद, सहभागिता र जवाफदेहितामा आधारित प्रणाली हो ।
खुश्बु ओलीले प्राचीन कालदेखि नै संवाद र सामूहिक निर्णयको परम्परा रहेको स्मरण गराउँदै वर्तमान अभ्यास त्यसको विपरीत दिशातर्फ गएको टिप्पणी गरिन् ।
उनले प्रधानमन्त्रीको व्यवहारमाथि प्रश्न उठाउँदै भनिन्, ‘पहिलो अधिवेशनमा प्रधानमन्त्री बोल्नै नबोली सदनबाट बाहिरिनुभयो, दोस्रो अधिवेशनमा आफ्नै नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा बीचमै उठेर हिँड्नुभयो । हामीले सदनमा सुकुमबासी र संवैधानिक परिषद्का विषय उठाउँदा उहाँ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुहुन्छ ।’
ओलीका अनुसार, प्रधानमन्त्रीको यस्तो प्रवृत्तिले संसद्प्रति अनिच्छा र गैरजिम्मेवारीपन देखाउने ‘ढाँचा’ नै निर्माण गरेको छ ।
जनताले शक्तिशाली नेतृत्वको अपेक्षा गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मात्र सीमित नरही संसद्मै उपस्थित भएर जनताप्रति जवाफदेही बन्न आग्रह गरिन् ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया