काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले क्याम्पसभित्र गुण्डागर्दी गर्ने र प्राध्यापक पिट्ने विद्यार्थी संगठनहरूको औचित्य समाप्त भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले शैक्षिक संस्थाभित्र हुने अराजकता तत्काल बन्द हुनुपर्ने माग गरेका हुन्।

advertisement

सदनलाई सम्बोधन गर्दै सांसद खत्रीले भने, ‘गुण्डागर्दी गर्ने, प्राध्यापक पिट्ने, क्याम्पसमा खुकुरी नचाउने, असुली गर्ने र तस्करसँग उठबस गर्ने थलो अब बन्द हुनैपर्छ। यस्ता विद्यार्थी संगठनहरूको मुलुकमा कुनै काम छैन।’

उनले अब विद्यार्थीलाई केवल पढाइसँग मात्र जोड्नुपर्नेमा जोड दिए।

छलफलका क्रममा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर परम्पराको कुरा उठाएकोमा उनले प्रतिवाद गरे। राजालाई हटाएर परम्परा तोड्न सकिन्छ भन्ने पाठ सिकाउने दलहरूले नै अहिले परम्पराको रटान लगाउनु आवश्यक नभएको उनको तर्क थियो।

‘परम्परा तोड्नु संविधान मिच्नु होइन, परम्परा संविधान होइन,’ खत्रीले भने, ‘यो सरकार क्रमभङ्गता तोडेर आएको हो, जसले पुराना जर्जर परम्परालाई चुनौती दिन्छ।’

प्रधानमन्त्रीको अनुपस्थितिबारे बचाउ गर्दै उनले नीति तथा कार्यक्रम र बजेट अर्थ मन्त्रालयसँग सम्बन्धित विषय भएको र मुलुकले काबिल अर्थमन्त्री पाएको उल्लेख गरे।

उनले काबिल अर्थमन्त्रीले आफ्नो जिम्मेवारी पुरा गरिरहेको अवस्थामा प्रधानमन्त्रीले किन हस्तक्षेप गर्नुपर्‍यो भन्दै प्रश्न गरे। यो सरकार ‘मेरिट’ (योग्यता) को जगमा उभिएको र यसको तागत नै मेरिट भएको उनले दाबी गरे।

नेपालले अब गफ नभई ‘एक्सन’ खोजेको बताउँदै उनले सरकारको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भन्नेहरूको सोच नै कर्मकाण्डी भएको टिप्पणी गरे।

‘जति राम्रो कार्यक्रम ल्याए पनि खोत देखाउनु कर्मकाण्डी सोचको उपज हो,’ उनले भने, ‘अब दोषी चस्मा खोलौँ र जिब्रोमा नुन राखेर तरकारी चाख्न छोडौं।’

सांसद खत्रीले सरकारले नेपाललाई टेक हब बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने र रिमोट वर्कलाई कानुनी मान्यता दिने विषयलाई नीति तथा कार्यक्रममा समेट्नु सकारात्मक भएको बताए।

यसले युवा पुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्ने उनको विश्वास छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र डिजिटल प्रणालीमार्फत पारदर्शिता बढाउने सरकारको घोषणा जनअपेक्षा अनुकूल रहेको उनले उल्लेख गरे।

कृषि क्षेत्रलाई केवल परम्परागत जीविकोपार्जनको माध्यम मात्र नबनाई सम्मानजनक र उद्यमशील पेसाका रूपमा विकास गर्ने सोचलाई उनले स्वागत गरे।

यद्यपि, नीति राम्रो भए पनि यसको सफलता कार्यान्वयन संस्कृतिमा निर्भर रहने उनले स्पष्ट पारे। सम्बोधनको अन्त्यमा उनले सरकारमाथि लागेको अधिनायकवाद र फासीवादको आरोपको खण्डन गरे।

हरेक वर्ष आउने नीति तथा कार्यक्रम नेता र नाताभित्रको दस्ताबेज हुने गरेको आरोप लाग्ने गरे पनि यसपटक त्यसलाई चिरेको उनको दाबी थियो।

उनले कसैको स्वार्थको रोटी सेक्न नभई जनताको चुलोलाई हेरेर सरकारले बजेट ल्याउनुपर्ने सुझाव दिए।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com