काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन्।

मृत्यु हुनेमा ६ वर्षीया नमुना चेपाङ रहेको प्रहरीले जनाएको छ। उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्। च्याउ सेवनपछि बिरामी परेकी उनको बिहीबार बिहान घरमै मृत्यु भएको हो।

advertisement

त्यस्तै, सोही परिवारका सजन चेपाङ र मनिता चेपाङ गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। सजन कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको जनाइएको छ।

स्थानीयका अनुसार गत मंगलबार परिवारले जङ्गली च्याउ खाएको थियो। बिरामी परेपछि उनीहरू घरमै बसिरहेका थिए। बिहीबार बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेले घटनाबारे थाहा पाएका थिए।

हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार गाउँलेको सहयोगमा बिरामी बालबालिकालाई अस्पताल ल्याइएको हो।

“स्वास्थ्य संस्थामा ल्याएको देखेपछि मैले नै गाडीको व्यवस्था गरेर भरतपुर अस्पताल ल्याएको हुँ। एक जनाको ज्यान गइसकेको अवस्थामा अन्य दुई जनालाई उपचारका लागि समयमै अस्पताल ल्याउन सफल भयौं,” उनले बताए।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा सहायक मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद पौडेलका अनुसार १२ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

मंगलबार बुबा श्यामबहादुर चेपाङ र आमा पदममाया चेपाङसँगै तीन बालबालिकाले च्याउ खाएका थिए। अस्पतालले बुबाआमालाई समेत परीक्षणका लागि अस्पताल ल्याउन आग्रह गरेको छ।

डा. पौडेलका अनुसार जङ्गली च्याउमा पाइने ‘एमेनिटा’ नामक विषालु तत्वले कलेजो, मिर्गौला तथा मस्तिष्कमा गम्भीर असर पुर्‍याउने गर्दछ। “यसले कलेजो फेल हुने, बेहोस हुने र मिर्गौलामा असर गर्ने हुँदा ज्यानसमेत जान सक्छ,” उनले बताए।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com