काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद केपी खनालले नेपालमा विद्युत् उपयोग गरेर ‘ग्रीन हाइड्रोजन’ प्रविधिबाट रासायनिक मल उत्पादन गर्न सरकारलाई अग्रसर हुन आग्रह गरेका छन्।
शुक्रबार संघीय संसद्को कृषि समितिको बैठकमा बोल्दै उनले किसानले मलका लागि सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए। ‘विद्युत् प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्ने दिशामा अघि बढ्नुपर्छ,’ उनले भने, ‘माटोमा पसिना बगाएर देशको भोक मेटाउने किसानहरू नै मलको माग गर्दै सिंहदरबार धाउनुपर्ने स्थिति हुनु दुःखद हो।’
उनले वर्तमान सरकारले किसानका पक्षमा काम गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दक्ष र प्रभावकारी ढंगले काम गर्नुपर्ने बताए।
सांसद खनालले कृषि क्षेत्रमा नेपालमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै इजरायल को उदाहरण प्रस्तुत गरे। ‘बालुवामै उत्पादन बढाउन सफल इजरायलबाट हामीले सिक्न सक्छौं,’ उनले भने, ‘हामीसँग पहाड, हिमाल र तराईजस्ता विविध भू–भाग छन्, त्यसैले कृषि उत्पादन विस्तार गर्न सक्ने सम्भावना अझ ठूलो छ।’
नेपाल कृषिप्रधान देश हुँदाहुँदै पनि किसानले मल र बीउका लागि राज्यसँग गुहार माग्नुपर्ने अवस्था रहेकोप्रति उनले चिन्ता व्यक्त गरे। ‘देशको भोक मेटाउने किसानहरू नै आज आधारभूत आवश्यकताका लागि राज्यसँग हात फैलाउन बाध्य छन्,’ उनले भने, ‘यो अवस्थाको अन्त्य गर्न ठोस नीति र कार्यान्वयन आवश्यक छ।’
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया