काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीपछि अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पनि महाधिवेशनको सरगर्मी सुरु भएको छ।

रास्वपाले आगामी असारमा आफ्नो पहिलो महाधिवेशनको तयारी गरिरहेका बेला राप्रपाले पनि महाधिवेशनकै दिशामा पाइला चालेको हो।

advertisement

यसै सिलसिलामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न महत्वपूर्ण संगठनात्मक निर्णयहरू गरेको छ।

बैठकले केन्द्रीय कार्यसमितिको आगामी बैठक आगामी २०८३ जेठ २८ र २९ गते काठमाडौँमा बस्ने तय गरेको छ। यसैगरी बैठकमा महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा प्रस्तुत गरिएको फागुन २१ को निर्वाचनसम्बन्धी सातै प्रदेशको समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय भएको छ।

यसअघि प्रतिनिधिसभा निर्वाचनका कारण रोकिएका पार्टीका जिल्ला, स्थानीय तथा अन्य तल्ला तहका अधिवेशनहरूलाई पुनः सुचारु गरिने भएको छ। पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार निकट भविष्यमा हुने महाधिवेशनलाई ध्यानमा राख्दै सबै तहका अधिवेशनहरूलाई तीव्रताका साथ अघि बढाउन सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरिएको छ।

आगामी महाधिवेशनको मिति तय गर्न र त्यसको विस्तृत कार्यतालिका निर्माण गर्ने जिम्मेवारी उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री डा. धवल शमशेर राणा र सह–महामन्त्री प्रकाश रिमाललाई सुम्पिएको छ, जसलाई आगामी कार्यसम्पादन बैठकमा पेस गरिनेछ।

यसका साथै संविधान संशोधनसम्बन्धी बहसपत्र निर्माण कार्यदललाई आवश्यक सुझाव दिने जिम्मेवारी सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा रहेको समितिलाई दिइएको छ। राप्रपाले आफ्नो स्थापित मान्यता र घोषणापत्रको भावनालाई समेटेर संविधान संशोधनका विषयमा आफ्ना सुझावहरू पेस गर्ने जनाएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com