काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन्जी आन्दोलन’का घाइते तथा शहीद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा घाइते तथा शहीद परिवारसँग छलफल गरेको थियो । छलफलका क्रममा उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।

advertisement

घाइते तथा शहीद परिवारले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन कार्यदलका संयोजक शाहसँग आग्रह गरेका थिए । त्यसपछि शाहले वर्तमान सरकार ‘जेन्जी आन्दोलन’कै जगमा बनेको उल्लेख गर्दै उनीहरूको हकहितका लागि सरकार निरन्तर काम गरिरहेको बताए ।

उनले सरकारबारे कुनै भ्रम नराख्न आग्रह गर्दै भने, “यो सरकार जेन्जी आन्दोलनकै जगमा बनेको हो। तपाईँहरूको भावना र बलिदानलाई हामीले बिर्सेका छैनौँ। त्यसैले यो सरकार तपाईँहरूको सरकार हो।”

शाहले भ्रष्टाचारविरुद्धको लडाइँ र सुशासनको माग संसदमै उठाइएकाले अहिले सरकारले त्यसैलाई कार्यान्वयन गर्ने अवसर पाएको उल्लेख गरे । साथै, सरकारको नीति सुशासन र भ्रष्टाचार नियन्त्रणमा ‘शून्य सहनशीलता’ रहेको उनले दोहोर्‍याए ।

उनले सरकार र घाइते–शहीद परिवारबीच केही दूरी महसुस भएको स्वीकार गर्दै अबदेखि मागका लागि उनीहरूलाई बारम्बार धाउनुपर्ने अवस्था नआउने आश्वासन दिए ।

कार्यदलका सदस्य–सचिव एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदीले पनि सरकार जेन्जीका माग पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

छलफलको अन्त्यमा संयोजक शाहले संविधान संशोधनका लागि बहसपत्र तयारी भइरहेको जानकारी दिँदै यस ऐतिहासिक प्रक्रियामा सहभागी हुन सबै जेन्जीलाई आह्वान गरे ।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com