काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको छलफलको समय अत्यन्त सीमित बनाइएको भन्दै असन्तुष्टि जनाएका छन्।
उनले देशको आगामी एक वर्षको दिशा तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त र गहिरो बहस आवश्यक रहनेमा जोड दिँदै सरकारले त्यसलाई छोटो अवधिमा सीमित गर्नु उचित नभएको बताए। विगतमा यस्ता छलफल कम्तीमा तीन दिनसम्म चल्ने गरेको स्मरण गर्दै उनले यसपटक केवल ६ घण्टामा टुंग्याइनु दुःखद भएको टिप्पणी गरे।
नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमलाई सामान्य औपचारिकताका रूपमा नभई राष्ट्रको भविष्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने उल्लेख गर्दै सांसदहरूलाई विस्तृत रूपमा धारणा राख्ने अवसर दिनुपर्ने धारणा व्यक्त गरे।
सरकारले ‘डिजिटलाइजेसन’ र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको दाबी गरे पनि ग्रामीण भेगका किसान र मजदुरसम्म यसको पहुँच सुनिश्चित गर्ने विषयमा स्पष्ट योजना अभाव रहेको उनले आरोप लगाए। ‘नागरिक एप’ जस्ता कार्यक्रम प्रभावकारी बनाउन सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र प्रविधिको पहुँच अपरिहार्य रहने उनको भनाइ थियो।
उनले नीति तथा कार्यक्रममा आधारभूत प्रविधि पहुँच विस्तारको ठोस खाका नदेखिनु सरकारको दृष्टि अझै तल्लो तहका नागरिकसम्म पुग्न नसकेको संकेत भएको बताए। दुई तिहाइ बहुमत प्राप्त सरकारले समेत नीति तथा कार्यक्रमलाई व्यवस्थित र समावेशी बनाउन नसक्नु दुःखद भएको उल्लेख गर्दै आगामी बजेटमार्फत यस्ता कमजोरी सच्याउन उनले सरकारलाई आग्रह गरे।
प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै आङदेम्बेले नेपाली कांग्रेस केवल विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको बताए। राज्यको नियतप्रति शंका नगरे पनि कार्यशैली र प्राथमिकतामा सुधार आवश्यक रहेकोमा उनले जोड दिए।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया