काठमाडौं । अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बेसीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय ४० मिलिग्राम सहित ७ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बेसीगाउँ बस्ने २३ वर्षीय अनिल केसी, ४४ वर्षीय बसन्त तिमल्सिना, सोही नगरपालिका-८ बस्ने ३७ वर्षीय बिक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देबेन्द्र अर्याल, काठमाडौं चुनिखेल बस्ने सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई र काठमाडौं गौशाला पिङगलस्थान बस्ने दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ रहेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङको पथरीशनिश्चरे नगरपालिका-८ कुशल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार २ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ३ सय २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुशन राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-४ महुबारीबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ८० ट्याब्लेट सहित सोही नगरपालिका-११ मसिना बस्ने ३३ वर्षीय बर्कत अलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरीले भारतबाट खुनगाईतर्फ आउँदै गरेको लु.४७ प ३८११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
झापाको कनकाई नगरपालिका-५ चाप्रमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २६ वर्षीय काले भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका-६ बस्ने २० वर्षीय प्रदिप रसायली रहेका छन्। अस्थायी प्रहरी बिट दुर्गापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको गोदावरी नगरपालिका-२ स्थित आर बि होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित होटलका संचालक सोही ठाउँ बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-७ घर भएका ३६ वर्षीय तिलक बहादुर वली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-४ बस्ने ३० वर्षीय तेज बहादुर बिटालु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने १९ वर्षीय सोहन नेपाली रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.१ ह २२११ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो। साथै थप अनुसन्धानको लागि प्रहरीले अटो चालकलाई समेत नियन्त्रणमा लिएको छ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय दिच्छु चौधरी समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले बा.६२ प २९७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय रोशन धामीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनकुटाको साँगुरीगढी गाउँपालिका-३ मादेन डेरा गरी बस्ने ४० वर्षीया बिष्णु याखालाई अवैध लागूऔषध गाँजा करिब ९२ किलो सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजारानी समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गजरौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गुलरिया बस्ने ३१ वर्षीय पारस जोशी, सोही नगरपालिका-६ मौरीफाटा बस्ने २३ वर्षीय भरत रोकाया र सोही नगरपालिका-७ कलुवापुर बस्ने १८ वर्षीय किशोर रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा २१ किलो ३ सय १० ग्राम सहित पर्सा बिन्दबासिनी गाउँपालिका-४ मधुवन बस्ने ६० वर्षीय लक्चन हजरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया