काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले वर्तमान सरकार सही दिशामा अघि बढ्न नसकेको भन्दै सरकारका गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्न उठिरहेको अवस्थामा समर्थन गर्न नसकिने बताएका हुन्।

advertisement

प्रचण्डले सुकुमबासी समस्या अझै समाधान हुन नसकेको, ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर रूपमा कायम रहेको बताए। साथै संविधान संशोधनका लागि सरकारले तयार पार्ने भनिएको बहसपत्रसमेत पारदर्शी रूपमा अघि नआएको भन्दै त्यसले थप विवाद सिर्जना गरेको टिप्पणी गरे।

उनले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै सरकारको नियतमाथि समेत प्रश्न उठाए। संसद् बोलाउने अधिकार र पर्याप्त बहुमत हुँदाहुँदै नियमित प्रक्रियाबाट विधेयक ल्याउन सकिने अवस्थामा अध्यादेशको बाटो रोजिनु “लाजमर्दो” भएको उनको भनाइ थियो।

पुष्पकमल दाहाल  ले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यक परिमार्जनका पक्षमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्न तयार रहेको बताए। तर सरकारका पछिल्ला गतिविधिले समर्थन गर्न सकिने अवस्था नरहेको उनको दाबी छ।

उनले आवश्यक परे सरकारविरुद्ध संसद् र जनस्तर दुवैबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए। साथै आफूले संसद्मा सरकारलाई सतर्क हुन सुझाव दिइसकेको जानकारी गराए।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com