काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी लाई युगद्रष्टा नेता भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मदन–आश्रित स्मृति दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत उनले ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनु परेको स्मरण गरेका छन्। समय बित्दै जाँदा त्यो पीडाको स्मृति झन् गहिरिँदै गएको उनले बताएका छन्।
केपी शर्मा ओली ले मदन भण्डारीलाई आफ्नो नेता, सहयोद्धा र जनताको बहुदलीय जनवादका प्रमुख प्रणेता भएको उल्लेख गर्दै उहाँको विचारले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको बताए।
उनका अनुसार जनताको बहुदलीय जनवादले आन्दोलनलाई युगअनुकूल वैचारिक परिष्कार दिएको, जनताको जीवनसँग जोडेको र परिवर्तनको यात्रालाई अगाडि बढाउने मार्गचित्र दिएको हो। उनले सोही वैचारिक आधारमा “समृद्ध नेपाल, सुखी नेपाली” अभियान अघि बढाइएको पनि बताए।
ओलीले पछिल्लो दशकमा उक्त अभियानले विकास र पूर्वाधारका क्षेत्रमा केही परिवर्तन ल्याउन थालेको दाबी गरे। उनले मदन भण्डारी र जीवराज आश्रितसहित आन्दोलनका अग्रजहरूको योगदानलाई नेपाली राजनीतिक यात्राका दीपस्तम्भका रूपमा स्मरण गर्दै उनीहरूको विचार आज पनि मार्गदर्शक रहेको उल्लेख गरे।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया