काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका विषयमा ‘जेन–जी’ (नयाँ पुस्ता) अगुवाहरूको सुझाव संकलन गर्ने भएका छन्।

यसका लागि आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। पार्टीको ‘संविधान संशोधन अध्ययन तथा सुझाव पेश समिति’को आयोजनामा हुने उक्त छलफलमा १८ जना जेन–जी प्रतिनिधिहरूलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।

advertisement

कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा. खनाल लगायत विज्ञहरू पनि सहभागी हुने बताइएको छ। नयाँ पुस्ताको दृष्टिकोण समेट्दै संविधान संशोधनका विषयमा व्यापक धारणा लिन कांग्रेसले यो पहल अघि बढाएको हो।

सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न विभिन्न पक्षसँग परामर्श गरिरहँदा कांग्रेस भने आफ्नै तयारीमा जुटेको देखिन्छ। उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन गरिएको कार्यदलमार्फत सुझाव संकलनको प्रक्रिया अघि बढाइएको छ।

‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्ने विज्ञ समिति’मा वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरू आबद्ध छन्। समितिले यसअघि दुई चरणमा संविधानविद्हरूसँग छलफल सम्पन्न गरिसकेको छ भने आजको कार्यक्रममार्फत युवा पुस्ताको धारणा संकलन गर्न लागिएको हो।

यता, प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा सञ्चालन भइरहेको संविधान संशोधन बहसपत्र तयारी प्रक्रियामा भने कांग्रेस सहभागी भएको छैन। उक्त कार्यदलले जेन–जी अगुवाहरूलाई बोलाए पनि उनीहरूले त्यसमा सहभागिता जनाएका थिएनन्।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com