काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टी र अध्यक्ष केपी शर्मा ओलीको रक्षा गर्नु सिंगो पार्टी पङ्क्तिको प्रमुख जिम्मेवारी भएको बताएका छन्।
आइतबार मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले र नेतृत्वविरुद्ध देशी तथा विदेशी शक्तिहरू सक्रिय रहेको दाबी गरे।
रामबहादुर थापा का अनुसार पार्टी अध्यक्ष ओली र एमालेलाई समाप्त पार्ने खालका षड्यन्त्रहरू भइरहेका छन् र तीविरुद्ध पार्टी एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता छ। उनले पार्टी र नेतृत्वको रक्षा गर्ने जिम्मेवारी सबै नेता–कार्यकर्ताको काँधमा आएको बताए।
उनले पछिल्ला राजनीतिक घटनाक्रम, निर्वाचन प्रक्रिया, सरकारका निर्णय तथा पार्टी अध्यक्षमाथि उठाइएका मुद्दाहरूलाई लक्षित गर्दै ती सबै घटनालाई दासढुंगा घटनाको निरन्तरताको रूपमा बुझ्नुपर्ने टिप्पणी गरे।
थापाले भने, अहिलेका घटनाक्रमहरू दासढुंगादेखि अहिलेसम्मको शृङ्खलाका रूपमा बुझ्नुपर्छ। एमाले र यसको नेतृत्वलाई समाप्त पार्ने प्रयास भइरहेको छ, त्यसको प्रतिवाद गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी हो।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया