काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको आन्तरिक विवादभन्दा देशका गम्भीर मुद्दामाथि केन्द्रित हुने समय आएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले कांग्रेसले घरझगडामा अल्झिनुभन्दा राष्ट्रका जटिल समस्या समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। उनले आफूले बीपी कोइरालाको विरासत बोकेको उल्लेख गर्दै त्यसले देशप्रति जिम्मेवार भएर सोच्न प्रेरित गर्ने बताए।
‘बीपीले लगाएको जुत्तामा खुट्टा हाल्नु भनेको ठूलो जिम्मेवारी हो,’ उनले भने, ‘अब कांग्रेसको नेतृत्वले आन्तरिक विवादमा समय खर्चने कि देशका समस्याको समाधान खोज्ने भन्ने निर्णय गर्नुपर्छ।’
थापाले कांग्रेसभित्र धेरै नेताहरूले लामो राजनीतिक संघर्ष गरेको स्मरण गर्दै त्यो संघर्ष लोकतन्त्र, नागरिक स्वतन्त्रता, आत्मसम्मान र सहभागिताका लागि भएको स्पष्ट पारे। ती मूल्यहरूलाई व्यवहारमा उतारेर नागरिकको जीवनमा परिवर्तन ल्याउनु अहिलेको प्रमुख दायित्व भएको उनले बताए।
पार्टीलाई देशका मूल मुद्दामा स्पष्ट रूपमा उभ्याउन आन्तरिक छलफल आवश्यक रहेको र त्यसका साथै आम समर्थक र शुभेच्छुकसँग प्रत्यक्ष संवाद बढाउनुपर्नेमा उनले जोड दिए।
विशेष महाधिवेशनको आवश्यकता औँल्याउँदै उनले कांग्रेस केवल संगठनभित्र सीमित समूह नभई व्यापक जनआधार भएको पार्टी भएको उल्लेख गरे। पछिल्लो समय करिब १० लाख शुभेच्छुक र समर्थकको विश्वास गुमेको भन्दै उनले पुनः उनीहरूको भरोसा जित्ने आफ्नो लक्ष्य रहेको बताए।
‘म ती समर्थकसम्म पुग्न चाहन्छु र उनीहरूलाई विश्वास दिलाउन चाहन्छु कि कांग्रेसको मूल मूल्य र उद्देश्य पुनः स्थापित हुन्छ,’ उनले भने।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया