काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतासँग जोडिन नसकेका कार्यकर्ता माथि निर्भर भएर चुनावमा जाँदा पार्टीले पराजय भोग्नुपरेको बताएका छन्।

उनले एमाले जनतामुखीभन्दा सत्तामुखी बन्दै गएको स्वीकार गर्दै यही कारण पार्टी कमजोर बन्दै गएको धारणा राखेका छन्।

advertisement

मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक कार्यक्रममा बोल्दै पोखरेलले गत निर्वाचनको समीक्षा आवश्यक रहेको बताए।

उनले पार्टीले जनतासँग प्रत्यक्ष सम्बन्ध भएका कार्यकर्ताभन्दा संगठनभित्र सीमित कार्यकर्तालाई प्राथमिकता दिँदा अपेक्षित परिणाम आउन नसकेको उल्लेख गरे।

“जनतासँग भिजेका होइन, जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा हामीले पराजय भोग्यौँ,” उनले भने।

पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) कार्यान्वयनमा कमजोरी देखिएको स्वीकार गर्दै पार्टी क्रमशः सत्ताकेन्द्रित बन्दै गएको टिप्पणी गरे।

उनका अनुसार जनतासँगको सम्बन्ध कमजोर हुँदा पार्टीको प्रभाव पनि खस्कँदै गएको छ।

उनले पार्टीले जनताबीच जाने शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समाजसँग घुलमिल हुने, जनभावना बुझ्ने र वैचारिक रूपमा स्पष्ट कार्यकर्ता तयार गर्नुपर्ने बताए।

महासचिव पोखरेलले पपुलिज्मको विकल्प वैचारिक दृष्टिकोणयुक्त युवाशक्ति भएको उल्लेख गर्दै युवाहरूले समाज रूपान्तरणको जिम्मेवारी लिनुपर्ने धारणा राखे।

उनले वैचारिक आधारबिनाको पपुलिज्मले अन्ततः पूँजीवादकै रक्षा गर्ने दाबी गरे।

सूचना प्रविधि र सामाजिक सञ्जालमार्फत फैलिरहेको ‘पपुलिस्ट’ प्रभावलाई चुनौती दिन युवाहरूले वैचारिक बहस र मार्क्सवादको नयाँ ढंगले व्याख्या गर्नुपर्ने उनले बताए।

सूचना प्रविधिमा सक्रिय युवालाई त्यस दिशामा लाग्न उनले आह्वान गरे।

पोखरेलले देशमा लगानीको वातावरण कमजोर बन्दै गएको, बैंकमा पैसा थन्किने क्रम बढेको र युवाहरू विदेश पलायन भइरहेका विषयप्रति पनि चिन्ता व्यक्त गरे।

उनले आयात बढ्दै गएको र निर्यात घट्दै गएको वर्तमान अवस्थाले अर्थतन्त्रमा असन्तुलन सिर्जना गरेको बताए।

सरकारको प्रारम्भिक कामकारबाहीप्रति टिप्पणी गर्दै उनले सुकुम्बासी बस्ती हटाउने कार्यले सामाजिक र आर्थिक समस्या थप जटिल बनाएको आरोप लगाए।

साथै, उनले सरकारका केही निर्णयले बेरोजगारी बढाउन सक्ने संकेत देखिएको पनि बताए।

पोखरेलले ‘जेनजी आन्दोलन’प्रति एमालेले लिएको दृष्टिकोणप्रति जनताले विश्वास नगरेको स्वीकार गर्दै त्यसले पनि निर्वाचन परिणाममा असर परेको बताए।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com