काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षबीच बढ्दो दलगत मानसिकताले संसदीय अभ्यास कमजोर बनाइरहेको बताएका छन्।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको छलफलमा सोमबार बोल्दै उनले सरकारले ल्याउने नीति तथा कार्यक्रमलाई प्रतिपक्षले स्वतः अस्वीकार गर्ने प्रवृत्ति रहेको टिप्पणी गरे।
उनले राम्रो प्रस्तावलाई पनि राम्रो भन्न नसक्ने अवस्था संसदीय अभ्यासका लागि गलत भएको बताए।
आचार्यले भने, “सत्ता पक्षको अवस्था पनि त्यत्तिकै चिन्ताजनक छ।
प्रतिपक्षले राखेका रचनात्मक र आवश्यक संशोधनहरूलाई समेत गुण र दोषका आधारमा छलफल नगरी अस्वीकार गरिन्छ।
प्रतिपक्षको संशोधन स्वीकार गर्दा सरकारको दस्तावेज बिटुलो हुन्छ भन्ने जुन अघोषित र गलत धारणा बनेको छ, अब त्यसलाई तोड्नुपर्छ।”
उनले प्रतिपक्षबाट आएका रचनात्मक संशोधनहरूलाई गम्भीरतापूर्वक छलफल नगरी अस्वीकार गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए।
साथै, कानुन निर्माण तथा जनजीविकासम्बन्धी विषयमा सत्ता र प्रतिपक्ष दुवैले दलगत सोचभन्दा माथि उठेर निर्णय गर्ने व्यवस्था नियमावलीमै समेटिनुपर्ने उनको भनाइ थियो।
उनका अनुसार सरकार गठन, विश्वासको मत, बजेट र अध्यादेशजस्ता विषयमा दलको ह्विप आवश्यक भए पनि अन्य विषयमा लचिलो र सहकार्यपूर्ण संसदीय अभ्यास आवश्यक छ।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया