काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई देशको प्रमुख र सबैभन्दा जिम्मेवार राजनीतिक शक्ति भएको बताएका छन्।
काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको ‘प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’लाई सम्बोधन गर्दै उनले कांग्रेसले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक बुझ्नुपर्नेमा जोड दिए।
उनले भने, ‘कांग्रेस देशको मुख्य राजनीतिक शक्ति हो र हामी सबैभन्दा जिम्मेवार शक्ति हौं। त्यसअनुसार सोच र व्यवहार हुन आवश्यक छ।’
सभापति थापाले कांग्रेससँग जिम्मेवारीबाट पन्छिने वा प्रतिक्रिया मात्रै दिएर भाग्ने विकल्प नभएको स्पष्ट पारे। साथै, अरू कसैले देश सम्हाल्छ भनेर ढुक्क भएर बस्ने सुविधा पनि कांग्रेससँग नभएको उनको भनाइ थियो।
उनले देश संविधानको मार्गभन्दा विचलित हुन नहुने बताउँदै त्यसलाई सही दिशामा राख्ने दायित्व कांग्रेसकै काँधमा रहेको उल्लेख गरे।
‘संविधानको ट्र्याकभन्दा दायाँ–बायाँ देश जान दिनु हुँदैन,’ उनले भने, ‘सरकार कहिलेकाहीँ संख्याको भरमा विचलित हुन सक्छ, त्यस्तो अवस्थामा त्यसलाई समातेर सही ट्र्याकमा राख्ने जिम्मेवारी कांग्रेसको हो।’
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया