काठमाडौं। भारतको लखीमपुर खेरी जिल्लामा ट्रक र म्याजिक भ्यान एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
सोमबार बिहान लखीमपुरबाट बहराइचतर्फ जाँदै गरेको म्याजिक भ्यान धौरहरा कोतवाली क्षेत्रअन्तर्गत भरेहता गाउँ नजिक ट्रकसँग ठोक्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जिल्लाका प्रमुख जिल्ला अधिकारी अञ्जनी कुमार सिंह का अनुसार दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्।
मृतकमध्ये तीन जना महिला रहेका छन् भने छ जना बहराइच जिल्लाका बासिन्दा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
अन्य मृतकहरूको पहिचान गर्ने काम भइरहेको बताइएको छ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।
यस घटनाप्रति योगी आदित्यनाथ ले दुःख व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको प्रभावकारी उपचार र आवश्यक सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया