काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै एकताबद्ध संगठन निर्माण गर्नुपर्ने बताएका छन्।
सोमबार काभ्रेको धुलिखेलमा आयोजित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अब कांग्रेसको मुख्य नीति “गुट भत्काउने र पार्टी बनाउने” हुनुपर्ने धारणा राखे।
उनले पार्टीभित्र बढ्दो अविश्वास र शंका अन्त्य गरेर साझा लक्ष्यका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे।
क्रियाशील सदस्यता अद्यावधिकको विषयमा उठेका विवादप्रति संकेत गर्दै शर्माले पार्टीका महामन्त्री गगन थापा लाई विश्वास नगरे पनि आफ्नै वडा सभापतिमाथि विश्वास गर्न आग्रह गरे।
उनले भने, “तपाईंहरू गगन थापालाई विश्वास नगर्नुहोस्, त्यो ठीकै छ।
तर आफ्नै वडाको सभापतिलाई त विश्वास गर्नुस्।
क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम गगन थापाले एक्लै गर्ने होइन, वडा–वडामा पुगेर त्यहीँका वडा सभापतिले गर्ने हो।”
शर्माले वडा, पालिका र जिल्ला तहका अधिकांश नेतृत्व १४ औँ महाधिवेशनबाट निर्वाचित भएर आएको स्मरण गराउँदै आफ्नै नेतृत्वमाथि शंका गरेर पार्टी बलियो बनाउन नसकिने बताए।
त्यस्तै, उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि जिम्मेवारी दिएर समेट्नुपर्ने धारणा राखे।
यदि सहभागी भएकाहरूलाई मात्रै अवसर दिइयो भने त्यसले पार्टी विभाजनलाई थप बल पुग्ने चेतावनी उनले दिए।
उनले भने, “हामीले सहभागी नभएका साथीहरूलाई पनि क्रमशः जिम्मेवारी दिइरहेका छौँ। आगामी दिनमा थप समेट्दै लैजानुपर्छ।
यो कुनै व्यक्ति विशेषका लागि होइन, गुट भत्काएर पार्टी निर्माण गर्ने अभियानको हिस्सा हो।”
उपसभापति शर्माले आन्तरिक एकता, विश्वास र समावेशी नेतृत्वमार्फत मात्रै कांग्रेसलाई सुदृढ बनाउन सकिने बताएका छन्।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया