काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले वर्तमान सरकारले निजी क्षेत्रमाथि आतंक सिर्जना गरेको बताएका छन्।
विनियोजन विधेयक, २०८३ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सचेतक राईले सरकारको नीतिगत प्रतिबद्धता र व्यवहारबीच ठूलो खाडल देखिएको टिप्पणी गरे।
उनले सरकारले एकातिर नयाँ चरणको आर्थिक सुधार र निजी क्षेत्रको मनोबल उकास्ने दाबी गर्ने तर अर्कातिर प्रतिष्ठित उद्योगी व्यवसायीहरूलाई बिनाकारण धरपकड गरेर त्रसित बनाउने काम गरिरहेको बताए।
अर्थमन्त्रीको विज्ञता र अन्तर्राष्ट्रिय अनुभवको प्रशंसा गर्दै सचेतक राईले अर्थमन्त्रीका सुधारात्मक योजनाहरू प्रधानमन्त्री कार्यालय र सरकारको गृह प्रशासनका कारण कार्यान्वयन हुन नसकेको आशंका व्यक्त गरे। सरकार पहिला थुन्ने अनि मात्र सुन्ने नीतिमा अघि बढेको हो? भन्दै उनले प्रश्न गरे।
निश्कल राई ले सरकारको यस्तो कार्यशैलीले सिङ्गो निजी क्षेत्र ‘डिमोरालाइज’ भएको उल्लेख गरे। पुँजी पलायनको जोखिम बढ्दै गएकोप्रति सचेत गराउँदै राईले निजी क्षेत्रलाई समुन्नतिको इन्जिनका रूपमा स्वीकार गर्न सरकारलाई आग्रह गरे।
उनले भने, ‘अर्थमन्त्रीज्यू अर्थतन्त्रको जहाज मोडेर नयाँ गति दिन चाहन्छु भन्नुहुन्छ, तर सरकारको व्यवहार निजी क्षेत्रलाई तर्साउने र धम्क्याउने खालको छ। यस्तो अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनु कोरा कल्पना मात्र हुनेछ। निजी क्षेत्रलाई थुन्ने होइन, कर सहुलियत, प्रशासनिक सहजीकरण र व्यापारिक सहजतामार्फत उद्योग व्यवसाय विस्तारको अवसर दिनुपर्छ।’
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया