काठमाडौं। सर्वोच्च अदालतको ३३ औँ प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध परेका १६ वटा उजुरीमाथि आज संसदीय सुनुवाइ हुने भएको छ।
संसदीय सुनुवाइ समितिले उजुरी अध्ययन र छलफलका लागि आवश्यक तयारी पूरा गरेको छ।
डा. शर्मालाई संवैधानिक परिषद्ले वैशाख २४ गते प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
तर, चौथो वरीयतामा रहेका शर्मालाई रोलक्रम मिचेर सिफारिस गरिएको भन्दै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता गीता थापालगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।
सर्वोच्च अदालत प्रशासनले ती रिटहरू दरपीठ गरेपछि निवेदकहरूले पुनः निवेदन दिएका थिए।
त्यसमाथि सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले सोमबार सबै रिट दर्ता गरी पेसी चढाउन लिखित आदेश दिएकी थिइन्।
उनले अदालत प्रशासनले कानुनअनुसार आएका निवेदन रोकेर न्यायमा पहुँच अवरुद्ध गरेको टिप्पणी गर्दै यस्तो कार्य न्यायपालिकाको स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामाथिको गम्भीर उदासीनता भएको उल्लेख गरेकी थिइन्। आदेशमा मुख्य रजिष्ट्रारलाई ध्यानाकर्षण गराउँदा “सिफारिस भएका न्यायाधीश डा. शर्माकै निर्देशनमा निवेदन रोकिएको” खुलेको उल्लेख गरिएको छ।
तर, कामु प्रधानन्यायाधीशको आदेशपछि पनि सर्वोच्च अदालत प्रशासनले सोमबार कार्यालय समयभित्र रिट दर्ता नगरेको बताइएको छ।
निवेदक अधिवक्ता डा. प्रेमराज सिलवालले दिनभर अदालतमा बस्दा पनि रिट दर्ता नभएको र फाइल अल्झाएर राखिएको गुनासो गरेका छन्।
यसैबीच, सिंहदरबारमा संसदीय सुनुवाइ प्रक्रिया भने तीव्र रूपमा अघि बढाइएको छ।
संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे र सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठ का अनुसार आज बिहान समितिको बैठक बसेर उजुरीहरू सांसदहरूलाई वितरण गरिनेछ।
त्यसपछि बिहान १० बजेदेखि उजुरीकर्ताहरूसँग छलफल सुरु हुने कार्यक्रम छ।
समितिले आजै शर्माको नाम अनुमोदनका लागि निर्णयार्थ पेश गर्ने तयारी गरेको बताइएको छ।
नेपालको संसदीय सुनुवाइ इतिहासमा २०७५ सालमा तत्कालीन प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी बाहेक अन्य कोही पनि अस्वीकृत भएका छैनन्।
हालको सुनुवाइ समितिमा सत्तारूढ दलहरूको बहुमत रहेकाले डा. शर्माको नाम अनुमोदन हुने सम्भावना बलियो मानिएको छ।
समितिबाट अनुमोदन भएपछि डा. शर्माले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछन्।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया