काठमाडौं। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ आज दिउँसो साढे १ बजे हुने भएको छ।
संसदीय सुनुवाइ समितिका सचिव तुलप्रसाद कडेलले संवैधानिक परिषद्लाई पत्राचार गर्दै सुनुवाइका लागि डा. शर्माको उपस्थितिको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
समितिले दिउँसो १ बजेदेखि सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
डा. शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन्।
ती उजुरीमाथि मंगलबार बिहान समितिमा प्रारम्भिक छलफल गरिएको थियो।
संवैधानिक परिषद्ले गत वैशाख २४ गते बहुमतका आधारमा डा. शर्मालाई सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
तर, चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै कानुन व्यवसायी तथा विभिन्न पक्षबाट विरोध हुँदै आएको छ।
यसअघि सर्वोच्च अदालतमा दायर रिट निवेदन, अदालत प्रशासनले रिट दर्ता नगरेको विवाद तथा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल को आदेशपछि न्यायपालिका र राजनीतिक वृत्तमा यो विषय थप चर्चामा आएको छ।
आजको सुनुवाइपछि संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय प्रक्रिया अघि बढाउनेछ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया