हाभाना। क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले अमेरिकाले आफ्नो देशविरुद्ध सैन्य कारबाही गरे गम्भीर र रक्तपातपूर्ण परिणाम निम्तिन सक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति डियाज–क्यानेलले क्युबाले कुनै पनि देशविरुद्ध आक्रामक योजना नबनाएको र अमेरिकालाई कहिल्यै धम्की नदिएको स्पष्ट पारेका छन्।
उनले अमेरिकाले लगाइरहेका दबाब र प्रतिबन्धहरूप्रति आपत्ति जनाउँदै यदि सैन्य आक्रमण भएमा क्युबाले आत्मरक्षाको अधिकार प्रयोग गर्ने बताएका छन्।
उनका अनुसार हाल क्युबा र अमेरिकाबीचको सम्बन्ध पछिल्ला दशकहरूकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले हालै क्युबामाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ।
त्यसपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आगामी दिनमा थप कडाइका कदम आउन सक्ने संकेत दिएका छन्।
नयाँ प्रतिबन्धअन्तर्गत क्युबाको गुप्तचर निकाय, गृह मन्त्रालय तथा ११ जना उच्च अधिकारीमाथि कारबाही गरिएको छ।
तीमध्ये न्याय मन्त्री र सशस्त्र बलका एक उपमन्त्रीसमेत परेका छन्।
यसैबीच क्युबा गम्भीर ऊर्जा संकटबाट गुज्रिरहेको छ।
सरकारी अधिकारीहरूका अनुसार रुसबाट आएको इन्धन सहायता सकिएपछि देशमा लामो समयसम्म विद्युत् कटौती हुन सक्ने अवस्था देखिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रमुख ढुवानी कम्पनीहरूले पनि नयाँ अमेरिकी नियमअनुसार क्युबासँगको सेवा बन्द गरेका छन्।
यसले देशमा खाद्यान्न आपूर्ति झन् प्रभावित हुने आशंका बढाएको छ।
कृषि उत्पादन घट्दै गएपछि क्युबाले अहिले धेरै खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको छ, जसले चिनी, कफी र तम्बाकुजस्ता परम्परागत उत्पादनसमेत प्रभावित बनाएको बताइएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया