काठमाडौं। नेपाल प्रहरीले नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत सेवा रूपान्तरण गर्ने लक्ष्यसहित तीन वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मंगलबार उक्त योजना सार्वजनिक गरेका हुन्।
नेपाल प्रहरीले आगामी तीन वर्षभित्र प्रविधीमैत्री रूपान्तरण र नागरिक केन्द्रित सेवालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
‘चुस्त प्रहरी सेवा–सुरक्षित समुदाय’ भन्ने रणनीतिक विषय तय गर्दै संगठनलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
रणनीतिक योजना सार्वजनिक गर्नुअघि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना २०८० अन्तर्गत भएका लक्ष्य, कार्यगत उद्देश्य र उपलब्धिको समीक्षा गरेको थियो।
सोही समीक्षा र भावी चुनौतीलाई आधार बनाएर नयाँ रणनीतिक योजना तयार गरिएको जनाइएको छ।
आईजीपी कार्कीले रणनीतिक योजना कार्यान्वयनसँगै नागरिकमैत्री प्रहरी सेवा विस्तार हुने, आधुनिक प्रविधिको प्रयोग बढाइने तथा मानवअधिकारप्रति थप प्रतिबद्ध भएर काम गरिने बताए।
उनले उच्च व्यावसायिकता र उत्तरदायित्वमार्फत प्रहरी संगठनप्रति जनविश्वास अझ बलियो बनाउने लक्ष्य रहेको उल्लेख गरे।
प्रहरीको नयाँ रणनीतिक योजनामा सात वटा रणनीतिक क्षेत्र समेटिएका छन्।
ती क्षेत्रअन्तर्गत ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्य सम्पन्न गर्ने योजना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
योजनामा अल्पकालीन तथा दीर्घकालीन दुवै प्रकारका लक्ष्य निर्धारण गरिएको छ।
अल्पकालीन लक्ष्यअन्तर्गत नीतिगत तथा कानुनी सुधार, समुदाय–प्रहरी सहकार्य सुदृढीकरण, पूर्वानुमानमा आधारित अपराध नियन्त्रण प्रणाली विकास तथा कार्यसम्पादनमा आधारित वृत्ति विकासलाई प्राथमिकतामा राखिएको छ।
यसैगरी अपराध अनुसन्धान र प्रहरी कार्यलाई थप विशिष्टीकरण गर्ने, आधारभूत क्षमता अभिवृद्धि गर्ने तथा सेवा प्रवाहका प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य पनि समेटिएको छ।
प्रहरी संगठनभित्र सुपरिवेक्षण र मूल्याङ्कनका वैज्ञानिक मापदण्ड विकास गरी कार्यान्वयन गर्ने योजना समेत सार्वजनिक गरिएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया