काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेटका सिद्धान्त र प्राथमिकताहरू जनताबाट अनुमोदित एजेन्डा र दर्शनअनुसार नै आएको स्पष्ट पारेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले प्रस्तुत गरेको बजेट दस्ताबेज आफ्नै राजनीतिक दृष्टिकोण र जनादेशअनुसार तयार गरिएको बताएका हुन्। आफ्नै भाषा र दस्ताबेज अनुमोदन गराउन अर्को चुनाव कुर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सारअनुसार नै हामीले प्रस्तुत गरेका हौँ। अब आफ्नै भाषा र आफ्नै दस्ताबेज अनुमोदित गराउन अर्को चुनाव कुर्नुपर्ला।
अर्थमन्त्री वाग्लेले नयाँ शक्ति र पुस्ता संसद्मा आएपछि संविधानमाथि संशय गरिएको भन्ने आरोपको खण्डन गर्दै संविधानप्रतिको आफ्नो बफादारी अटुट रहेको दाबी गरे। संविधान संशोधन आवश्यक परे पनि विद्यमान संवैधानिक प्रक्रियाअनुसार मात्र अघि बढ्ने उनले स्पष्ट पारे।
“संविधानमा मन नपरेका प्रावधानहरू फेर्नुपरे पनि यही संविधानकै धारा २७४ र २७५ टेकेर मात्रै गर्छौँ भन्ने कुरा वाचापत्रमै स्पष्ट रूपमा उल्लेख गरेका छौँ,” उनले भने।
उनले अर्थतन्त्रको दीर्घकालीन लक्ष्यमा सबै राजनीतिक दलबीच साझा बुझाइ आवश्यक रहेको बताउँदै साध्य र साधनबीचको फरकबारे पनि चर्चा गरे।
उनका अनुसार आर्थिक वृद्धि, सम्मानजनक रोजगारी, प्रतिव्यक्ति आय वृद्धि, सामाजिक न्यायमा लगानी क्षमता विस्तार तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा र आत्मसम्मान कायम गर्नु राज्यका मुख्य उद्देश्य हुन्।
विगतका राजनीतिक अभ्यासप्रति संकेत गर्दै उनले ३० वर्षको नीति, शासकीय शैली र चरित्र नै ठीक भएको भए अहिलेको पुस्तान्तरण र परिवर्तनको माग नउठ्ने तर्क गरे।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया