काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकार घरघरमा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्ने तयारीमा रहेको बताएका छन्।
मंगलबार नीति तथा कार्यक्रममाथि दुवै सदनमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले निजी क्षेत्रप्रति सरकारले सकारात्मक दृष्टिकोण राखेको स्पष्ट पारे। इमानदार र लगानीमुखी निजी क्षेत्रलाई कुनै चिन्ता लिनु नपर्ने उनको भनाइ थियो।
उनले भने, इमानदार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर–घर, ढोका–ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा हुने दोहन प्रवृत्तिलाई अब संरक्षण नदिने स्पष्ट पारे। गलत कार्यप्रति सरकार कडा रूपमा प्रस्तुत हुने उनको भनाइ थियो।
उनले भने, आसेपासेको मिलेमतो, नीतिगत कब्जा र दोहनको घनचक्करमा संलग्न प्रवृत्तिबाट राज्यलाई मुक्त गर्दै सुशासनको लाभ आम नागरिकसम्म पुर्याउनु नै हाम्रो मूल उद्देश्य हो।
उनका अनुसार सुशासन नै सरकारको शीर्ष प्राथमिकता हो र भ्रष्टाचार, ढिलासुस्ती, बिचौलियातन्त्र तथा संस्थागत कब्जाले आर्थिक प्रणाली कमजोर बनाइरहेको छ।
अर्थतन्त्रलाई उपभोगमुखी र आयात–निर्भर अवस्थाबाट निकालेर उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित गतिशील अर्थतन्त्रमा रूपान्तरण गर्नु सरकारको मुख्य लक्ष्य रहेको उनले बताए। साथै, प्रतिपक्षलाई परिवर्तनको यात्रामा अवरोध नगरी रचनात्मक सहयात्री बन्न उनले आग्रह गरे।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया