काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
रासायनिक मलका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण ‘टेन्डर’ भइसकेको मल आउन ढिलाइ भएको बताउँदै उनले ‘ स्ट्रेट अफ होर्मुज’ मा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको चार लाख ९१ हजार मेट्रिक टन मल आउने विश्वास व्यक्त गरे । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको मन्त्रालयले जनाएको छ ।
द्वन्द्वका कारण रासायनिक मल कहिले आउँछ भन्न नसकिने अवस्थामा प्राङ्गारिक मलको उपयोग गर्न पनि सहसचिव श्रेष्ठले आह्वान गरे । किसानलाई मल प्रयोग गर्दा रासायनिक मात्र नगरी माटोको स्वास्थ्य बचाउन पनि उनले अनुरोध गरेका छन् ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया