काठमाडौँ । नेपालका विभिन्न भागमा लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात अवरुद्ध भएको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुर र सङ्खुवासभामा यातायात प्रभावित भएको छ। भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ भने वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा खसेको पहिरोका कारण कोशी राजमार्ग पनि एकतर्फी सञ्चालनमा छ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी बढी प्रभावित भएका छन्। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा छ।
कर्णाली प्रदेशको हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–२ मा पहिरोको जोखिम बढेपछि हिल्सा–सिमकोट सडक खण्डमा सवारी सञ्चालन रोक लगाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया