काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र दक्षिण कोरियाको वैदेशिक रोजगारी प्रक्रियाबारे देखिएको अन्योलतामाथि स्पष्ट धारणा सार्वजनिक गरेको छ ।

मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लटरी आउट भएका उम्मेदवार र ईपीएस परीक्षार्थीहरूको मागका सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

advertisement

मन्त्रालयका अनुसार सन् २०२० मा नेपाल र इजरायलबीच भएको द्विपक्षीय सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली कामदार पठाउने प्रक्रिया निरन्तर अगाडि बढिरहेको छ ।

पछिल्लो विज्ञापनमार्फत छनोट भएका २ हजार ११२ जना नेपाली श्रमिकमध्ये अधिकांश इजरायल पुगिसकेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, लटरी प्रक्रियाबाट छनोट हुन नसकेका १ हजार १५३ जना उम्मेदवारहरूले आफूहरूलाई पनि रोजगारीका लागि पठाउन माग गर्दै आएका थिए ।

मन्त्रालयले उनीहरूको माग सम्बोधन गर्न इजरायली निकाय तथा नेपालस्थित इजरायली राजदूतावाससँग कूटनीतिक पहल गरेको जनाएको छ ।

तर, इजरायल पक्षले हाल सञ्चालनमा रहेको प्रक्रियामा लटरी आउट भएका उम्मेदवारलाई समावेश गर्न नसकिने स्पष्ट पारेको मन्त्रालयले उल्लेख गरेको छ ।

इजरायलले ती उम्मेदवारलाई आगामी नयाँ विज्ञापन खुल्दा पुनः आवेदन दिन सुझाव दिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले सम्बन्धित उम्मेदवारहरूलाई धैर्य गर्न र आगामी प्रक्रियाको प्रतीक्षा गर्न आग्रह गरेको छ ।

त्यसैगरी, दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि आवेदन दिएका परीक्षार्थीहरूले रोष्टर थप, परिवर्तन तथा समयावधि थप गर्नुपर्ने माग गर्दै मन्त्रालयमा निवेदन दिएका थिए ।

यस विषयमा मन्त्रालयले दक्षिण कोरियाली सरकारसँग आवश्यक समन्वय तथा अनुरोध गरिसकेको जनाएको छ ।

नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय श्रम सम्झौताअनुसार नै सम्पूर्ण प्रक्रिया सञ्चालन हुने भएकाले अनावश्यक भ्रममा नपर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगारी प्रक्रियासम्बन्धी विषयमा आधिकारिक सूचनामात्र विश्वास गर्न तथा विद्यमान नियम, प्रणाली र कानुनी व्यवस्थालाई सम्मान गर्दै सहयोग र समझदारी कायम राख्न सबै सरोकारवालालाई अपिल गरेको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com