काठमाडौं। नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नियुक्तिसँगै कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीबाट बाहिरिएकी वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान ले २० दिन बिदा मागेकी छन् ।
उनले जेठ ६ गतेदेखि लागू हुने गरी बिदाका लागि निवेदन दिएकी हुन् ।
वरिष्ठताका आधारमा आफू प्रधानन्यायाधीश बन्ने अपेक्षामा रहेकी प्रधान संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि असन्तुष्ट रहेको बताइएको छ ।
यद्यपि, उनले राजीनामा दिने मनस्थिति भने नबनाएको स्रोतको दाबी छ ।
प्रधानसँगै वरिष्ठताको सूचीमा डा. शर्माभन्दा अगाडि रहेका न्यायाधीश कुमार रेग्मी र हरि फुँयालले पनि तत्काल राजीनामा नदिने संकेत देखिएको छ ।
नवनियुक्त प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा कामु प्रधानन्यायाधीश रहेकी सपना मल्ल सहभागी भइनन् ।
संसदीय सुनुवाइ समितिबाट शर्माको नाम अनुमोदन भएसँगै उनी सर्वोच्च अदालतबाट बाहिरिएकी थिइन् ।
मंगलबार राति सर्वोच्च अदालतमा आयोजित पदभार ग्रहण कार्यक्रममा पनि सपना मल्ल अनुपस्थित रहिन् ।
तर न्यायाधीश कुमार रेग्मी र हरि फुँयाल भने कार्यक्रममा सहभागी भएका थिए ।
उनीहरूले नयाँ प्रधानन्यायाधीश शर्मालाई स्वागत गर्दै पदभार ग्रहण कार्यक्रममा उपस्थिति जनाएका थिए ।
साथै, रेग्मी र फुँयाल दुवैको बुधबारका लागि इजलास पनि तोकिएको छ ।
सपनाले दिएको २० दिने बिदाको निवेदन भने हालसम्म स्वीकृत भइसकेको छैन ।
अब उक्त निवेदनबारे निर्णय गर्ने अधिकार नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्मासँग रहनेछ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया